सुर्खेतका लागि झन्डै पाँच सय टन कुहिएको चामल बिक्रि गर्न पठाइयाे

२०७८ पुष २८, बुधबार
पढ्ने समय : 2 मिनेट

सुर्खेत । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली प्रदेश राजधानी सुर्खेतका लागि कुहिएको चामल पठाएको छ ।

कम्पनीले आफ्नो गोदाममा रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका लागि सुर्खेत पठाएको समाचार आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

खाद्य कम्पनीले कर्णालीका दुर्गम जिल्लामा पठाउने उद्देश्यसहित सो चामल सुर्खेत पठाएको हो ।

खाद्य कम्पनीले सुर्खेतमा बिक्रीका लागि पठाएको कुहिएको त्यही चामल हो, जसलाई खाद्य प्रविधि विभागको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाले गरेको चामलको १० वटा नमुना परिक्षणपछि खानयोग्य नभएको भनेर यसअघि नै पुष्टि गरिसकेको थियो ।

४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको ४ सय ८७ मेट्रिक टन बास्मती चामल कुहाउने कर्मचारीलाई कारबाही गर्नुको साटो सो कम्पनीले चामल नै कर्णाली प्रदेशका लागि पठाएको समाचारमा उल्लेख गरिएको छ । खाद्य कम्पनीको थापाथलीस्थित चामल गोदाम कर्मचारीको चरम लापर्बाहीले गोदाम नम्बर २४ र ३० मा रहेको बास्मती चामल कुहिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीका गोदाममा रहेको बास्मती चामलमा कीरा परेर धुलोधुलो भइसकेको हुँदा खान योग्य नभएको पुष्टि गरी नष्ट गर्ने निर्देशन दिएको थियो । चामल नष्ट गर्दा कुहाउने कर्मचारीले ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएकाले कम्पनीका कर्मचारी मिलेर कुहिएको चामलमा राम्रो बास्मती मिसाएर मिक्स गरेर दुर्गम जिल्लाका उपभोक्तालाई बिक्री गर्न कम्पनीको प्रादेशिक कार्यालय सुर्खेत पठाएको स्रोतले जानकारी दिएको छ ।

खाद्य प्रविधि विभागले गोदाममा कुहिएको चामल खानयोग्य नभएको भन्दै नष्ट गर्नुपर्ने भनेपछि कम्पनीले ‘रि पोलिसिङ’ गरी सुर्खेत जिल्लामा पठाएको हो । स्रोतको अनुसार ७५ किलो नयाँ बास्मती र २५ किलो कुहिएको बास्मती मिसाएर सय किलो बनाएर बिक्रीका लागि सुर्खेत पठाइएको हो ।

खाद्य कम्पनीको बिक्री वितरण शाखा प्रमुख भीम थापा, प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दलगायतका विभागीय प्रमुुखको मिलेमतोमा यो काम गरिएको हो ।

खाद्य कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा शाखा प्रमुख विनोद पौडेलले काठमाडौंबाट सुर्खेतमा १५ साउनदेखि १५ भदौको बीचमा २ हजार २ सय क्विन्टल बास्मती चामल आएको बताए । उनले खाद्य कम्पनीले सुर्खेतमा बास्मती चामल पठाएको यो नै पहिलो भएको बताए ।

खाद्य कम्पनीले यसअघि कर्णालीका नौ जिल्लाका लागि धनगढी, लहानलगायतका ठाउँबाट मोटा चामल पठाउँदै आएको समाचारमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//nessainy.net/4/4074708