सुर्खेतमा मेडिकल कलेज खुल्ने

२०७८ पुष २३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

सुर्खेतमा मेडिकल कलेजका लागि सरकारले अनुमति दिएसँगै पूर्वाधार निर्माणअघिका प्रक्रियागत काम थालिएको छ । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका अनुसार गुरुयोजना निर्माण र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम सुरु गरिएको हो ।

 

गुरुयोजना निर्माण र ईआईएको काम सकिएपछि सरकारले कति जग्गा अधिग्रहण गर्ने भन्नेबारे निर्णय गर्नेछ ।

 

‘पहिला प्रक्रियागत काम सकिएपछि मात्रै पूर्वाधारको काम हुने हो,’ आयोजनाका निर्देशक हेमकुमार ढकालले भने, ‘नगरपालिकाभित्रको वन क्षेत्र भनिए पनि कुन जग्गा कति उपयुक्त हुने भन्ने यसपछि मात्रै टुंगो लाग्नेछ ।’

चालु आर्थिक वर्षमा मेडिकल कलेजका लागि पुँजीगततर्फ विनियोजन भएको करिब २ करोड रुपैयाँले गुरुयोजना निर्माण र ईआईएको काम हुने उनले बताए । गुरुयोजना निर्माणको जिम्मा इभरसेफ इन्जिनियरिङ कन्सल्टेन्सीलाई दिइएको छ । ईआईएको जिम्मा पेसो कन्सल्टेन्सीले पाएको छ ।

गुरुयोजना निर्माण र ईआईएको काम चालु आवमा नै सकिने आयोजना कार्यालयले जनाएको छ । त्यसपछि सर्भे गरी जग्गाको टुंगो लगाएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिनेछ ।

 

प्रत्येक प्रदेशमा १/१ वटा मेडिकल कलेज स्थापना गर्ने संघीय सरकारको रणनीतिअनुसार सुर्खेतमा ३ वर्षदेखि मेडिकल कलेज स्थापनाका लागि पहल सुरु भएको हो । आयोजनाले २०७६ जेठदेखि सुर्खेतमै कार्यालय राखेर काम गर्दै आए पनि तत्कालीन मध्यपश्चिम क्षेत्रीय अस्पताल कर्णाली प्रदेश सरकार मातहतमा आएपछि पूर्वाधार निर्माणमा ढिलाइ भएको थियो ।

पूर्वाधार निर्माणको लागत घटाउने उद्देश्यले आयोजनाले हालको प्रदेश अस्पताललाई नै शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//oackoubs.com/4/4074708