नेपालमा विदेशी सिनेमामा कोटा प्रणाली लागु होला ?

२०७८ पुष १७, शनिबार
पढ्ने समय : 4 मिनेट

नेपाली सिनेमा रिलिज डेटका लागि तँछाड–मछाड सुरु भइसकेको छ । रिलिज डेट जुध्न थालिसकेको छ । ‘प्रेमगीत–३’ र ‘लप्पनछप्पन–२’ ले एउटै डेट लिएका छन् । ‘कबड्डी–४’ र ‘लक्का जवान’को रिलिज मिति एउटै परेको छ । भलै, नेपाल चलचित्र संघले नेपाली चलचित्र जुधाउन नहुने भन्दै केही समय अगाडि निर्णय गरिसकेको छ ।

नयाँ वर्षको मेसो पारेर चलचित्रहरू रिलिजका लागि केही मेकरले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । केही मेकर त्यही महिना ताकिरहेका छन् । ठूलो ब्यानरका हिन्दी सिनेमा समेत थुप्रै आउँदै छन् । साउथका हिन्दी डब चलचित्र आउँदा पछि हट्ने नेपाली निर्देशक तथा निर्माताहरू हिन्दी सिनेमा आउने भएपछि पछि हट्ने निश्चित छ । त्यसैले अहिले लिएका रिलिज डेटमा सबै चलचित्र प्रदर्शन हुन्छन् भन्ने छैन ।

दसैँ अगाडिदेखि नै सिनेमा हल खुले पनि लामो समय नेपाली चलचित्र प्रदर्शनमा आएनन् । केही चलचित्र रिलिज नै नभएका त हैनन्, तर ती चलचित्रले दर्शकलाई हल फर्काउँदैनन् भन्ने निश्चित थियो । त्यसैले नेपाली मेकर हिन्दी सिनेमाको पर्खाइमा हल खाली राखेर बसे । तिहारमा बलिउड मुभी ‘सूर्यवंशी’ आयो । दर्शक हल फर्किए पनि । त्यसपछि सबैभन्दा पहिला अगाडिको डेट लिए अर्जुनकुमारले । उनले आफ्नो चलचित्र ‘चपली हाइट–३’ पुस २ गते रिलिज गर्ने घोषणा गरे । तर, साउथको हिन्दी डब ‘पुष्पा’ आउने भएपछि अन्तिम समयमा उनी पछि हटे । ‘चपली हाइट–३’ पुस १५ गतेका लागि सर्‍यो । तर, यो मितिबाट पनि यो चलचित्र पछि सर्‍यो । नेपाल चलचित्र संघको आग्रहमा रिलिज मिति सारिएको चपली हाइट–३ का निर्देशक निकेश खड्का बताउँछन् ।

नेपाली चलचित्रले रिलिज डेट लिएको समयमा हिन्दी चलचित्र नलगाउन निर्माता अर्जुनकुमारले लबिङ गर्दै आएका छन् । प्रायः मेकरहरूले उठाउने गरेको माग हो यो । तर, जुन तहमा नेपालमा हिन्दी चलचित्र रिलिजका विषयमा मेकरहरूको एकीकृत आवाज उठ्नुपर्ने हो त्यति उठ्न नसकेको भन्दै अर्जुनकुमारले असन्तुष्टि जनाउँदै आएका छन् ।

सबैका चलचित्र एक न एक दिन रिलिज हुने भन्दै सबैले एकस्वरले आवाज उठाउनुपर्नेमा उनको जोड छ । हिन्दी चलचित्रलाई नेपालमा प्रदर्शनमा रोक नलगाए पनि साउथका हिन्दी डब चलचित्र प्रदर्शन गर्न दिन नहुने आवाज उनले उठाउँदै आएका छन् ।

“बलिउड चलचित्रका कारण पाकिस्तानको चलचित्र उद्योग ध्वस्त भयो । अहिले नै हामी सचेत नहुने हो भने हाम्रो पनि भोलि त्यही अवस्था नआउला भन्न सकिन्न,” अर्जुनकुमार भन्छन्, “हाम्रो चलचित्र उद्योग बचाउने कि ध्वस्त पार्ने हाम्रो हातमा छ ।”

प्रायः ठूलो ब्यानरका हिन्दी चलचित्र आएका बेला नेपाली मेकरले डेट नै लिँदैनन् । नेपाली चलचित्रले हिन्दी चलचित्रको क्यालेन्डर हेरेर डेट लिँदै आएका छन् ।

अहिलेकै अवस्थामा नेपाली चलचित्रले अर्बौँ लगानीमा बनेका चलचित्रसँग प्रतिस्पर्धा गर्न नसक्ने निर्देशक सुदर्शन थापा बताउँछन् । दुई/तीन करोडमा बनेका नेपाली चलचित्रले अर्बको छेउमा बनेका चलचित्रसँग एउटै थिएटरमा प्रतिस्पर्धा गर्नु परिरहेको उनको भनाइ छ ।

बलिउड, हलिउड सिनेमा रिलिज गर्न दिनु हुँदैन भन्ने पक्षमा आफू नरहेको तर अरू देशको रिजनल चलचित्र आउनु भने नेपाली चलचित्र उद्योगका लागि राम्रो नभएको सुदर्शन बताउँछन् ।

“हाम्रो माग हलिउड र बलिउडका चलचित्र आउनु हुँदैन भन्ने होइन । आइरहेका छन् र आउनु पनि पर्छ । म आफैँ पनि राम्रा चलचित्र हेर्छु,” निर्देशक सुदर्शन भन्छन्, “साउथ इन्डियन, भोजपुरी, मद्रासी चलचित्र भारतका पनि क्षेत्रीय चलचित्र हुन् । भारतका सबै क्षेत्रीय सिनेमा नेपाल आउन थाले भने नेपालजस्तो सीमित हल भएको ठाउँमा नेपाली चलचित्रले स्पेस पाउँदैन कि भन्ने हो ।”

नेपालमा पहिला नेपाली चलचित्रले स्थान पाउनुपर्नेमा उनको जोड छ । “मेरो व्यक्तिगत विचारमा हलिउड, बलिउड सिनेमा आउनुपर्छ । तर, पहिलो प्राथमिकता नेपाली चलचित्रलाई दिइनुपर्छ भन्ने हो । आफ्नो चलचित्र उद्योग समस्यामा नपरोस् भनेर धेरै देशले रणनीति बनाएका छन् । जस्तै : कोरिया,” उनी अगाडि थप्छन्, “चीनमा हिन्दी चलचित्रको ठूलो बजार देखिएको छ । तर, चीनले कोटा सिस्टम लागु गरेको छ । त्यसैले त्यहाँ सीमित चलचित्र मात्रै जान्छन् । जसका कारण त्यहाँ चिनियाँ चलचित्रले प्रश्रय पाउँछन् ।”

नेपालमा चलचित्र क्षेत्र विकासको क्रममा रहेकाले अहिले नै प्रतिस्पर्धा गर्न नसक्ने हुँदा केही समयका लागि आफ्ना चलचित्रलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ । “एउटा थिएटरमा तीनवटा स्क्रिन हुन्छन् । दुइटामा सय करोड र ५० करोडमा बनेका चलचित्र लागिरहेको हुन्छ । हाम्रो दुई करोडमा बनेको चलचित्रले कसरी प्रतिस्पर्धा गर्न सक्छ ?,” सुदर्शन प्रश्न गर्छन्, “त्यसैले निश्चित समयसम्म नेपाली चलचित्रलाई प्राथमिकता दिनुपर्छ ।”

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई कुनै न कुनै रूपमा नेपाली चलचित्रलाई प्रोत्साहन गर्न सरकार पछि पर्न नहुनेमा जोड दिन्छन् । आफ्नो देशको कला–संस्कृति लोप हुन नदिन पनि नेपाली चलचित्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनी जोड दिन्छन् ।

“मुम्बईमा हिन्दी भाषाको चलचित्र चलाउनुपर्‍यो भने त्यहाँ ठूलो मात्रामा कर तिर्नुपर्छ । तर, त्यहाँको स्थानीय भाषाको चलचित्र चलाउँदा कर नै तिर्नु पर्दैन । फ्रान्समा वर्षमा फरेन चलचित्र पाँचवटा मात्र प्रदर्शन गर्न पाइन्छ, त्यो पनि फ्रेन्च भाषामा डब गरिएको हुनुपर्छ,” उनी भन्छन्, “स्थानीय कला–संस्कृति लोप होला भनेर त्यसको संरक्षण र सम्वद्र्धनका लागि यस्तो नीतिगत निर्णय गरिएको हुन्छ । त्यसैले नेपालमा हाम्रै चलचित्रले प्रश्रय पाउने गरी निर्णय गरिनुपर्छ ।”

विदेशी भाषाका चलचित्रलाई ट्याक्स बढी लगाउनेबित्तिकै नेपालमा कम आउने उनको दाबी छ । ट्याक्स धेरै तिर्नुपरेपछि नाफा कम हुने हुँदा नेपालमा त्यसको खपत स्वतः कम हुने भएकाले नेपाली कला–संस्कृतिको रक्षार्थ यतातर्फ राज्यको ध्यान खिचिनुपर्ने उनी बताउँछन् ।

राजकुमार राईले आफू बोर्ड अध्यक्ष हुँदा भोजपुरी चलचित्र नेपालमा रिलिज गर्न नपाउने नीतिगत निर्णय गरेका थिए । नेपालमा अनुमति लिएर बनाएको अवस्थामा भोजपुरी चलचित्र नेपालमा चलाउन पाइन्छ । नेपाली भाषा हुने तर भारतमा मात्रै दर्ता भएको अवस्थामा भने त्यस्तो चलचित्र अहिले नेपालमा चलाउन प्रतिबन्ध छ ।

“निखिल उप्रेती, विराज भट्टलगायत नेपाली नायकले अभिनय गरेको चलचित्र नेपाली भाषामा डब गरिएको हुने तर नेपालमा दर्ता हुँदैन थिए । त्यसैले न ती चलचित्र फरेन हुन्थे न नेपाली । कतैका पनि नहुने त्यस्ता चलचित्र मैले नेपालमा चलाउन नपाउने नियम बनाएको थिएँ,” उनले स्मरण गरे, “प्रविधिको अहिलेको युगमा कसैले कसैलाई बन्देज गर्न सक्तैन । तर, कसरी आफ्नो मौलिक पक्षलाई संरक्षण र सम्वद्र्धन गर्ने त्यसतर्फ भने हामीले सोच्नुपर्छ, जुन अरूले गरिरहेका छन् । आफ्नो मौलिकता रक्षार्थ नेपाली चलचित्र कसरी बढी खपत हुन्छ, त्यसमा राज्यले सोच्नुपर्छ ।”

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल यस विषयमा छलफल गर्ने तयारीमा रहेको बताउँछन् । सबै पक्षसँग गम्भीर छलफल गरेर मात्रै निष्कर्षमा पुग्ने उनको भनाइ छ । “यो सामान्य विषय होइन । धेरै पक्षसँग बसेर यसमा के गर्न सकिन्छ भनेर अगाडि बढ्नुपर्छ । खरो रूपमा उठेको यो विषय म एक्कैले निर्णय गर्नु भन्दा पनि चलचित्र संघ, निर्माता संघलगायतसँग यस विषयमा गहन छलफल तत्काल गर्दै छु,” उनी भन्छन्, “हल सञ्चालकको राय के छ, नेपाली फिल्म कति प्राथमिकतामा आउने हो, यो विषयमा छलफल गरेर मात्रै निचोडमा पुग्नेछौँ । सबैसँग छलफल गर्ने चरणमा पुगेको छु ।”

नेपाली चलचित्रले मात्रै हल सञ्चालन हुन सक्छन् अथवा सक्दैनन् भन्ने प्रश्न पनि रहेको उनी बताउँछन् । बहकिएर कोटा प्रणाली लागु गर्नु अगाडि त्यो लगाउँदा हामीलाई हुने फाइदा के हो र घाटा के हो, पहिला त्यसको निष्कर्षमा पुग्ने उनको भनाइ छ । “नेपाली सिनेमा बचाउने भनेर अर्बौँ लगानी भएका हललाई पेलेर हुँदैन । हललाई पनि बचाएर कसरी अगाडि बढ्न सकिन्छ, पहिला यसमा छलफल हुन जरुरी छ,” दयाराम भन्छन्, “हलमा हिन्दी फिल्म लाग्यो, अब यसलाई पेल्नुपर्छ भनेर पूर्वाग्रही हुनु पनि हुँदैन । नेपाली चलचित्रले नेपाली सिनेमाको बजार कसरी धान्न सक्छ भन्ने बाटोतर्फ पहिला छलफल सुरु गर्नुपर्छ । उत्कृष्ट सिनेमा बनाएर वर्षभरि हललाई आवश्यकताअनुसार सिनेमा दिन सकिन्छ कि सकिँदैन, हामी आफैँ राम्रा सिनेमा बनाएर वर्षभरि हलमा देखाउन सक्छौँ भने अरूका सिनेमा चलाउनुपर्छ भन्ने पनि छैन । मुख्य कुरा हललाई पनि बचाउनुपर्छ भन्ने विषयलाई नजरअन्दाज नगरी बहस गर्नुपर्छ । यो चाँडै नै सुरु हुन्छ ।”

विश्वमा धेरै देशले आफ्नो देशका चलचित्रलाई प्राथमिकता दिनकै लागि विदेशी भाषाका चलचित्र रिलिजमा कोटा प्रणाली लागु गर्दै आएका छन् । नेपालमा पनि त्यस्तै नीतिगत निर्णय गर्नुपर्नेमा निर्माताहरूको जोड छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//zikroarg.com/4/4074708