डडुवा, रानीटार र झुलेटारका घरघरैमा व्यावसायिक तरकारी खेती

२०७८ मंसिर २४, शुक्रबार
पढ्ने समय : 2 मिनेट

सिन्धुपाल्चोक, २४ मंसिर

कसैले राम्राे पैसा कमाएकाे देखे वा सुने अधिकांसको साेचाइ हुन्छ विदेश गएर कमाएकाे हाेला । अझ ठूलाे घर हुने र राम्राे गाडि चढ्ने मानिसलाई त विदेशबाट कहिले फर्केकाे भनेर प्रश्न गर्ने धेरै हुन्छन् ।

तर, पैसा कमाउन विदेशमा जानै पर्छ भन्ने छैन साेचलाई चौतारा साँगाचोकगढी नगरपालिका-१४ का किसानले गलत सावित गरिरहेका छन् । यहाँका किसानकाे मिहिनेत खेतबारीभरीमा देख्न सकिन्छ । बारीमा लटरम्म फलेका गोलभेंडा र तरकारी टिप्न उनीहरूलाई भ्याइनभ्याई छ । कोही खेतबारीमा फलेका गोलभेँडा टिपिरहेका छन् भने कोहि गाडिमा लोड गरिरहेका भेटिनछन् । कोही चाही हरहिसाबमा व्यस्त देखिन्छन् । हरेक दिन दिउँसो ४ बजेपछि चौतारा सांगाचोकगढी नगरपालिका-१४ काे डडुवा, रानीटार र झुलेटारबाट साँगाचोक हुँदै गोलभेँडा बोकेर दैनिक ५ देखि ११ वटासम्म गाडि काठमाडौं जान्छन् ।

कम्तीमा दैनिक सात सय क्रेट गोलभेडा काठमाडौंदेखि चितवन हुँदै झापासम्म पुग्ने गरेको यहाँका किसानहरू बताउँछन् । कतिपय व्यापारी त गाडि लिएर किसानको खेत मै पनि पुग्छन । चौतारा सांगाचोकगढी नगरपालिका-१४ काे डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले गोलभेँडा लगाएका छन् । डडुवाकी मिना नेपालको बारीमा पाँच जना खेताला पाकेका गोलभेँडा टिप्न व्यस्त थिए भने एक जनाले बाटोसम्म डोकोमा बोकेर गोलभेंडा ओसारी रहेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्षअघिसम्म विदेश जाने चक्करमा थिए,’ मिना नेपालले भनिन् । दुई चार पैसाका निम्ति निकै कष्ट भोगेकी मिनालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर यो वर्ष ७ लाख कमाउनेका उनले बताइन । उनले ४ रोपनी बारीमा गोलभेँडा खेती गरेकी छिन् । उनि भन्छिन्, ‘श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासु ससुरा काम गर्न सक्नु हुन्न । रेखदेख मेरै हो, बिदाको समयमा सहयोग गर्नु हुन्छ ।’ खेताला, बिउबिजन, औषधि गर्दा डेढ लाख जति लगानी परेको उनी बताउँछिन् ।

यहाँका किसानको गोलभेँडा फलाउने तरिका अलि फरक छ । उनीहरूले मकै दोहाेर्याउने बेला गोलभेँडाका बिरुवा रोप्ने गर्छन् । पात लाछ्ने, मकै पाक्ने बेला बोटको टुप्पो काट्ने र मकै भाच्ने गर्छन् । बाँकी ढोर गाेलभेँडालाई थाक्रो हुन्छ । यसले गोलभेडा खेतीका लागि टनेल, थाक्रो हाल्ने लगानी गर्नु पर्दैन । यसो गर्दा एकै पटक मकै र गोलभेँडाको उत्पादन हुने गरेको छ । यहाँको माटोमा विनासिंचाई गोलभेडा फल्ने गरेको छ ।

यो क्षेत्र समुन्द्री सतहबाट १४ सय मिटरको उचाइमा छ । दक्षिणपट्टि फर्केको यहाँकाे जमिनमा रातो र कालो मिसिएको माटो भएकाले तरकारीका लागि उर्वर मानिन्छ ।डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरी हरेक परिवारले मकैभित्र रोपेका गोलभेँडाले अहिले आम्दानी गरिरहेका छन् । सामान्य रुपमा गोलभेँडा रोपेका परिवारले पनि यो समय कम्तीमा एक लाख आम्दानी गरेका छन् ।

ठूलाे क्षेत्रफलमा गोलभेँडा लगाउँदै आउनुभएका उद्धव नेपालको परिवारले २० लाखको गोलभेँडा भदौयताबाट मात्र बेचिसकेको बताए । अहिले गोलभेँडा र काउली मात्र भए पनि सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका डडुवाका किसानले तरकारी बेचेर मात्रै बार्षिक पाँच करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । चौतारा सांगाचोकगढी नगरपालिका-१४ का अध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार यो वर्ष कृषि पकेट क्षेत्रको लागि साढे दुई लाख नगरपालिकाबाट अनुदान आयो भने साढे दुई लाख वडाले विनियोजन गर्यो । वडाबाट किसानले चार हजार प्याकेटको बिउ अनुदान पाए ।

चौतारा सांगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषण गरेपछि व्यवसाय फष्टाउँदै गएको छ । तरकारी बिक्री गरी कमाएको पैसाले दैनिक घर खर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//nessainy.net/4/4074708