कोरोना खोप लगाउँदा भीडभाड देखिएकोबारे प्रधानमन्त्रीको चासो, केन्द्र बढाउन निर्देशन

२०७८ श्रावण १, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

कोरोना भाइरस संक्रमणको महामारीबाट बच्न भीडभाड कम हुनुपर्नेमा कोरोना विरुद्धको खोप लगाउँदा खोप केन्द्रमा भीडभाड देखिएकोबारे प्रधानमन्त्री शेरबहादुर देउवाले चासो राखेका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रवार सरकारी निवास बालुवाटारमा मुख्यसचिव शंकरदास वैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

कोरोनाको खोप लगाउने केन्द्रहरूमा लामो–लामो लाइन लागेकाले खोप केन्द्र बढाएर व्यवस्थित गर्न निर्देशन दिइएको प्रधानमन्त्री देउवाले ट्विटरमार्फत जानकारी दिएका छन् ।

देउवाको ट्विटर ह्यान्डलमा लेखिएको छ, ‘खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्रहरू बढाएर स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु ।’

यसअघि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिँदै चीनले थप १६ लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराउने जानकारी गराएकी थिइन् ।

प्रधानमन्त्री देउवाले शपथ ग्रहण गरेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले आगामी चैतभित्र सबै नेपालीलाई कोरोना विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । देउवा सरकारले कोरोना महामारीका बेला जनस्वास्थ्यलाई प्राथमिकतामा राखेको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री देउवाले हालै ट्विटरमार्फत भनेका छन्, ‘हरेक नेपालीले निःशुल्क रूपमा कोरोनाको खोप पाउनुहुनेछ । म कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा कुनै पनि कसर बाँकी राख्दिनँ । हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page