‘त्याग र निष्ठाको’ राजनीतिमा माधवराम

२०७८ असार २१, सोमबार
पढ्ने समय : 4 मिनेट

बाँके, असार २१- नेपाली समाजमा पढेलेखेका व्यक्ति धेरैजसो जागिर खाने सोचमा हुन्छन् । तर, यही समाजमा यस्ता व्यक्तिपनि छन्, जसले पढेर जागिर होईन्, आफ्नो सम्पूर्ण जीवन राजनीति र समाजसेवामा सर्मपित गरिरहेका छन् । यस्तै मध्येका एक ब्यक्ति हुन्, माधवराम खत्री । जसले पढेर जागिर खाने र सुविधाजनक हिसाबले बस्ने सोच कहिल्यै राखेनन् । बाँके क्षेत्र नम्बर १ का कांग्रेस क्षेत्रीय सभापति माधवरामले राजनीतिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदान अरुका लागि पनि प्रेरणादायी बन्ने गरेको छ ।

दाङको गोल्टाकुरीमा २०२७ साल मंसिर ५ गते जन्मिएका माधवरामले कर्मथलो भने बाँकेलाई नै बनाए । राज्यको हरेक सेवा सुविधाबाट बञ्चित रहेको बाँकेको क्षेत्र नम्बर १ बाट उनले त्याग र निष्ठाको राजनीतिका लागि ठुलै संर्घष गरेका छन् । २०४३ सालमा बालमितेरी माध्यामिक बिद्यालय भोजपुर दाङमा कक्षा ९ बाट राजनीतिमा प्रवेश गरेका उनलाई राजनीतिको नसाले छोएपनि पढाई रोकिएन । राजनीति र समाजसेवा एक अर्काका परिपुरक हुन् भन्ने मान्यता बोकेका उनले करिव दुई दशक अघि नै स्नातकोत्तर तह (एम.बिए.)उर्तीण गरेका हुन् ।

बाँकेको साविक खासकुश्मा गाउँ विकास समिति वडा नम्वर ५ भम्का(हाल राप्तीसोनारी गाउँपालिका वडा नम्बर १) का स्थायी बासिन्दा रहेका माधवराम राजनीतिमा यसरी सक्रिय भए, नेपाली काँग्रेसको विभिन्न भातृ संगठनमा आवद्ध हुदै पार्टीको मुल राजनीतमा स्थापित भए । बिद्यार्थी राजनीतिका क्रममा उनी २०४५ सालमा नेपाल बिद्यार्थी संघको दाङ–नेपालगन्ज सम्पर्क समितिको सचिव भएर काम गरे । २०४६ सालको जनआन्दोलनमा भुमिगत भएर बहुदल प्राप्तिका लागी आन्दोलनमा सक्रिय भएका थिए ।

२०४८ मा झापामा नेपाली काँग्रेसको महाधिवेशनमा पर्यवेक्षकको रुपमा सहभागी भए । २०४९ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य भएर तत्कालिन महादेवपुरी गाविसको टिकट वितरण गरी निर्वाचन जिताए । माधवराम २०५० सालमा नेपाल बिद्यार्थी संघ बाँकेको अध्यक्षमा उनी निर्वाचित भए । नेविसंघको कार्यकाल सफलता पुर्वक सम्पन्न गरेपछि भने उनी पार्टीको मुल राजनीतिमा झनै सक्रिय भएका हुन् । पटक–पटक महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यमा उनको अनुभव छ ।

पार्टीको १२ औं र १३ औं अधिवेशनबाट २ पटक बाँके क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिमा निर्वाचित भएका माधवरामले राजनीतिका क्रममा कुनैपनि लाभकारी पद लिएनन् । नेपाली काँग्रेस पटक–पटक सरकारमा गएपनि उनी पार्टीकै काममा सक्रिय रहे । यसले उनको राजनीतिलाई झन् निखारता ल्यायो । पार्टीको राजनीतिमा धेरै त्याग छ ।

विधि विधान र नियम कानुनभन्दा बाहिर गएर कहिल्यै काम गर्दैनन् र अरुलाई पनि गर्न दिदैनन्, यो उनको मुख्य विशेषता हो । माधवरामको साधारण जीवन शैली, त्याग र निष्ठाबाट आम कार्यकर्ता प्रभावित छन् । जसले गर्दा क्षेत्र नम्बर १ मा उनी राजनीतिक उचाई लम्किरहेका छन् । पार्टीभित्र उनको कुसल नेतृत्व क्षमता, इमान्दारिता, लगनशिलता भएका कारण आम कांग्रेस कार्यकर्ताले उनको मुल्यांकन गरिरहेका छन् । ‘मैले अहिले सम्म कुनैपनि लाभकारी पद लिएको छैन, सधै पार्टीको राजनीतिलाई मात्र अगाडी बढाउने अवसर पाए, मैले गरेको कामको मुल्यांकन नै आम कार्यकर्ताले गर्ने हो,’ उनी भन्छन् ।

माधवरामको राजनीतिमा जति लगानी छ, त्यतिकै योगदान सामाजिक क्षेत्रमा पनि छ । तर, उनले आफ्नो प्रचार नै त्यति गर्दैनन्न् । काम गरेर परिणाम ल्याउने, तर प्रचार नगर्ने उनको वानी छ । त्यसकारण उनले गरेका धेरैजसो काम बाहिरै आउँदैन । उनको कामलाई तल्लो स्तरका नेता, कार्यकर्ताले मात्र प्रत्यक्ष अनुभुती गर्छन् । ‘पार्टीभित्र त्यस्ता मान्छेहरु पनि छन्, जसले अरुले गरिदिएको कामको आफुले गरेको भनि प्रचार गर्छन्, तर माधवराम खत्रीले आफैले गरेको कामको पनि प्रचार गर्दैनन्, उहाँको कति योगदान छ भन्ने कुरा त हामीले मुल्यांकन गरिरहेका छौं नि,’ कोहलपुरका एक  कार्यकर्ताले भने ।

बाढी पीडित, सुकुम्बासी, भुमिहिन, मुक्त कमैयाका समस्या समाधानका लागी उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निभाएको भूमिका अविष्मरणीय रहेको स्थानीय कार्यकर्ता सम्झिन्छन् । माधवरामले क्षेत्र नम्बर १ मा थुप्रै पटक बाढी पीडित, सुकुम्वासी, भुमिहिन तथा थारु बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेका छन् । बाढीको विपत्ती, महामारी, आगलागी घटनामा पीडितको औषधी उपचारका साथै विभिन्न राहत तथा क्षतिपुर्ती वितरणका लागि सरकारी तथा गैर सरकारी निकायमा समन्वय गर्नेदेखी आफै पुगेर पीडामा मल्हम लगाउने काम गर्छन्, उनी । ‘हामीले राजनीति मात्र गर्ने होईन, जनतालाई परेका समस्याको पनि समाधान गरिदिनुपर्छ,’ माधवराम भन्छन् ।

आफ्नो क्षेत्रको शिक्षालाई माथी उठाउन माधवरामले गरेको योगदान ऐतिहासिक नै छ । गाउँमा बिद्यालय नहुँदा साविक खासकुश्मा–५ भम्का गाउँमा रहेको गरिव, विपन्न तथा सिमान्तकृत समुदाय(खुना)का छोराछोरीहरु बर्खायामको समयमा डुंगा तरेर वारीपारी गर्नुपर्ने बाध्यता थियो । नदी वारपार गर्ने बिद्यार्थीको अवस्था देखेर माधवरामले भम्का गाउँमै हरिशिद्ध प्राथमिक बिद्यालय स्थापना गराए । ‘माधवरामले गाउँमै स्कुल स्थापना गरिदिएपछि गरिव, विपन्न तथा सिमान्तकृत समुदायका छोराछोरीलाई धेरै राहत भएको थियो, यसबाट उनीहरु कक्षा ५ सम्म आफ्नै गाउँमा पढेर माथिल्लो कक्षा पढ्न गाउँ बाहिरको स्कुल जान पाए थिए,’ स्थानीय समाजसेवी डम्बर खत्री सुनाउँछन् ।

माधवरामको योगदान यतिमा मात्र सिमित छैन । राप्तीसोनारीको वडा नम्बर १ कुसुममा रहेको कुसुमेश्वर उच्च माध्यामिक बिद्यालयका संस्थापक प्राचार्य हुन्, माधवराम । उक्त बिद्यालयमा कक्षा १२ सम्मको पढाई सञ्चालन गर्न व्यवस्थापन समितिलाई निकै हम्य–हम्य परेको थियो । बिद्यालयमा कक्षा १२ सम्मको अनुमती लिन स्नातकोत्तर तह उर्तीण गरेको स्थानीय व्यक्तिको शैक्षिक प्रमाणपत्र चाहिने भयो । त्यतिबेला यिनै माधवराम आफ्ना सम्पुर्ण शैक्षिक प्रमाणपत्र सम्बन्धित निकायमा पेश गरेर कुसुममा उच्च मावि सञ्चालन गर्न ऐतिहासिक काम गरेका थिए । माधवरामकै योगदानका कारण अहिले उच्च शिक्षाका लागि त्यस क्षेत्रका बिद्यार्थी बाहिर जानु परेको छैन ।

त्यति मात्र होईन, उक्त बिद्यालयका लागि माधवरामको परिवारले १४ विघा जग्गा दान दिएको छ । उनका पिताले दान दिएको जग्गाको आम्दानीबाट बिद्यालयले दशकौं अघिदेखी निजी स्रोतका शिक्षकलाई तलब खुवाउनेदेखी बिद्यालयको हरेक समस्या टार्ने गरिन्छ । आफ्नो घर खर्च चलाउनलाई माधवरामलाई पैतृक सम्पत्तीले पुगेकै छ । त्यसकारण उनले राजनीतिलाई कमाउने माध्यम कहिल्यै बनाएनन् । बरु अप्ठ्यारोमा परेका ब्यक्ति र संस्थालाई सहयोग र दान गर्छन् ।

माधवरामले बाँके, क्षेत्र नम्बर १ अन्तर्गत पर्ने कोहलपुर, राप्तीसोनारी र नरैनापुरका विभिन्न ठाउँमा पुर्वाधार विकासको काममा पनि अगुवाई गर्दै आएका छन्् । आफ्नो क्षेत्रमा बिद्युत, सडक, नाला, पुल जस्ता भौतिक पुर्वाधार निर्माण गर्न, वन्यजन्तुको क्षति नियन्त्रणका लागि सम्बन्धित निकायमा पहल गर्नुका साथै आफ्ना कार्यकर्ताको सुख, दुःखमा उनले दिनरात साथ दिईरहेका छन् ।

राप्तीसोनारीको बैजापुर कुम्भरदेखी भम्का हुदै दाङको कालाकाटेसम्म जोड्ने हुलाकी सडक निर्माणका लागी उनले जिल्लादेखी केन्द्रसम्म धेरै पहल गरे । फलस्वरुप, उक्त सडक अहिले निर्माणाधिन अवस्थामा छ । ‘यो सडकका लागी मैले धेरै पटक मन्त्री र सचिव कहाँ धाएको थिए, त्यो सक्रियताले सडक बन्ने कामको सुरुवात भएको छ,’ उनी सम्झिन्छन्् ।  यस्तै राप्ती सोनारी २ कचनापुरदेखी कम्दी जोड्ने सडक निर्माणमा पनि खत्रीको योगदान प्रशंसनीय छ । ‘कचनापुरबाट कम्दी जोड्ने यो सडक निकै छोटो दुरिमा छ, यसले ग्रामिण क्षेत्रका जनतालाई राहत मिलेको छ ।’

बाढी पीडितलाई समान रुपले राहत वितरण, अव्यवस्थित बसोबासको व्यवस्थापन, नरैनापुर र राप्तीसोनारीमा बिद्युतीकरण गर्न माधवरामले पहल गर्दै आएका छन् ।

आफ्ना कार्यकर्तालाई दुःख पर्दा माधवराम खुलेरै साथ दिन्छन् । पार्टीको काम र समाजसेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप नेपाली काँग्रेसले उनलाई अघिल्लो प्रतिनिधी सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बनाएको थियो । उक्त निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र मिल्दापनि माधवरामले माओबादी केन्द्रका महेश्वर गहतराज अथकसँग थोरै मत अन्तरले हार ब्यहोर्नु परेको थियो । त्यतिबेला पार्टीभित्रका केही ब्यक्तिले अन्र्तघात गरेको उनको दुखेसो छ । चुनाव हारेपनि आफ्नो क्षेत्रको समग्र विकासका लागि निर्वाचित सांसदको भन्दा कम गरेनन् । उनी भन्छन्, ‘मेरो क्षेत्रमा पार्टी र कार्यकर्ताका लागि गरेको मेरो कामको मुल्यांकन स्वयं कार्यकर्ताले गर्नु भएको छ, क्षेत्रको समग्र विकासमा मैले गरेको कामको मुल्यांकन आमजनताले गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page