‘तँलाई जेसुकै होस्, मतलव छैन, काममा हन्ड्रेड पर्सेन्ट चाहियो!’

२०७८ असार १२, शनिबार
पढ्ने समय : 6 मिनेट

मसँग जुरुक्क उठेर हिँड्नुको विकल्प थिएन। बस्‍न मन हुने कुरै भएन। भइरहेको कुराकानी अनावश्यक तन्काउनु पर्ने कारण पनि बाँकी थिएन। भारी मन अनि रसिला आँखा बिसाउन मन थियो तर त्यहाँ रुनु थिएन।

त्यतिबेला थियो त केवल एउटा आकृति, ठीक अघिल्तिर अनुहारभरि आक्रोश बोकेर बसेको।

मेरा आँखा टिलपिल हुनुअघि उसले भनेको थियो – ‘मलाई कसैको ‘मेन्टल, इमोसनल स्टेट’को मतलव छैन। बस् काममा ‘हन्ड्रेड पर्सेन्ट’ चाहियो।’

पक्का भयो, कामका अगाडि मैले झेलिरहेका प्रश्नहरू, प्रश्नका कारण दिमागमा चलेको आँधी अनि मलाई लागेको चोट अति गौण हुन्। त्यहाँ कामले मात्र अर्थ राख्थ्यो। आँशु खसाल्नुको मूल्य थिएन।

सरासर उठेर आफ्नो कोठासम्म पुगेँ। केही खुड्किलो उक्लिँदा शरीर फतक्क गल्यो। दिमाग भने त्यस ठाउँ छोडेर भागिसकेको थियो, पहिल्यै। किनकि अब त्यहाँ मैले चाहेर पनि पूर्णरुपमा प्रस्तुत हुन सक्दिनथेँ।

अरे यार, कामकै लागि एक पर्सेन्ट पनि निद्रा नपुर्‍याएको चार रात भइसकेको थियो। ३४ घण्टापछि चिसो भातका सिता निल्दा मुख र आन्द्रा दुवै बिझाएका थिए। यी सब सहेको, काम भनेरै थियो। काम गर्ने उत्साह बोकेर उकालो लाग्दालाग्दै, बाटोमा अलपत्र छाडिएँ। जताबाट आएको त्यतै फर्कनु सजिलो विकल्प थियो। तर, कामप्रति म पनि उत्तिकै जिम्मेवार महसुस गरेँ र त फनक्क फर्किन सकिनँ।

जसले सोच्नुपर्ने हो, तिनले सोचेनन्। सोध्नु परको कुरा! त्यसैले ४ किलोमिटर बाटो छिचोल्न ४० किलोमिटर परबाट साथी बोलाएँ। भनेँ – ‘भोलिदेखि काम सुरु हुन्छ। जसरी पनि पुग्नु छ। पुर्‍याइदेउ न है।’

यस्ता झिना विषयले आफूलाई कति ‘पर्सेन्ट’ असर गर्छ त्यसको हिसाब गरिनँ।

हिसाब त त्यो समयको रह्‍यो – जुनबेला मलाई थोरै राहत चाहिएको थियो। बदलामा ‘प्रोफेसनल’ कुरामा ‘पर्सनल’ समस्या मिसाएको आरोप खेप्नु पर्‍यो। अनि आजसम्मै लखेटिरह्‍यो एउटै प्रश्नले – के साँच्चै मान्छे आफूलाई आफ्नै संवेदनाहरूबाट अलग्गाएर काममा दत्तचित्त हुनसक्छ?

+++

फायर क्याम्पमा थियौं। रमाइलो गर्दागर्दै, हाँस्दाहाँस्दै, स्वरमा स्वर मिलाएर गीत गाउँदा गाउँदै एउटा कर्कश आवाज सुनियो – के पीर छ हो यो उमेरमा? केको तनाव छ, डिप्रेस्ड हुनेगरी?

प्रश्नले झस्काएको थियो। तर, बोल्न आवश्यक लागेन। खुट्टा नजिकको फिलिङ्गो उचालेर आगो फुकेजस्तो गरेँ। मन थाम्न तानेको लामो सास फालिनसक्दै अर्को कोही बोल्यो – ‘उमेर। सबै उमेरले गर्दा हुन्छ।’

त्यहाँको गन्थन चुपचाप सहेर बसेँ। किनकि मेरो मनमा के गुज्रिरहे’थ्यो त्यो जो कोहीसँग सहजै साट्न सक्ने चक्लेटको मिठास वा जिब्रोमा झुन्डिने चट्पटेको स्वाद थिएन।

घटनापछि सँगै काम गर्न खटिएका कसैसँगको पनि संवादमा रुची रहेन। फेरि ‘आखिर केको तनाव, केको पिर?’ जस्ता प्रश्नको सामना गर्नुपर्ने भयको गुजुल्टोमा अल्झिएँ।

हरेकपटक आफू रित्तो र सबै कुरा शून्य लाग्ने अवस्थामा मान्छे किन र कसरी पुग्छ? कारण मलाई पनि त थाहा छैन। जसले बुझ्छ जस्तो लाग्छ उसलाई नजिकै राखेर भनिन्छ – म सधैँ उस्तै नहाँस्न सक्छु। कहिले काहीँ नदुखे पनि रुन सक्छु। सधैँ स्वभाविक प्रस्तुत नहुन सक्छु। अनिद्राले छट्पटाउँदा बेपर्वाह हिँड्न सक्छु। सम्हाली दिनु न है?

खैर, विश्वास र आशा गरिएकाले नै – ‘कामको बिचमा यस्ता व्यक्तिगत् समस्या नमिसाउनु’ भनेपछि आग्रहको अर्थ के? यस्ता जवाफहरूले परकम्पले जस्तै पच्छ्याइरह्यो। निकै पछिसम्म।

केही दिनका लागि बोकेको जिम्मेवारी साह्रै भारी लाग्यो। जाँगर जोगाइराख्न पनि सकस। विश्वास उठ्यो, सिद्धान्तका शब्दहरूबाट। जाग्यो प्रश्न – पसिनाको थोपा गन्नेहरूले संवेदनाको आवाज सुन्छन् कि सुन्दैनन्? मेहनतको थकान देख्नेहरूले हाड, छालाभन्दा भित्र कतैको छट्पटाहट महसुस गर्छन् कि गर्दैनन्? कोलाहलमा आफ्नो नाम सुन्न चाहनेहरू शून्यताको भाषा बुझ्छन् कि बुझ्दैनन्? र, रङमा रमाउनेहरू हाँसिरहेको मुहारभित्रको बेरङ्गी कथा स्वीकार्न सक्छन् कि सक्दैनन्?

‘साहु’ प्रवृत्तिविरुद्ध अनेक प्रश्न हुँडलियो, पहिलो पटक। किनकि म वर्षौदेखि जहाँ काम गर्छु, त्यहाँ त कहिल्यै त्यस्ता व्यक्तिगत प्रहार, असहयोग र अपमानजनक व्यवहार भोग्नै परेन। सोच्नै परेन।

काम गर्ने ठाउँको वातावरण, हुने व्यक्तिगत प्रहार, त्यसले निम्त्याउने निराशा र निराशाले पार्ने आघातलाई शोषण मान्ने कि नमान्ने? मानसिक शोषण। लाग्यो – प्रश्न साँच्चै आवश्यक छ।

+++

तीन वर्षअघि, विपश्यना ध्यान शिविरमा पोल्यान्डकी एक युवतीसँग भेट भयो मेरो। आधा वर्ष काम गरेर आधा वर्ष संसारको कुना काप्चा चहार्दै हिँड्ने उनले भनेकी थिइन् – नेपालीको त स्वभावै सुन्दर। त्यसैले त वर्षौसम्म एकै ठाउँमा काम गर्न सक्छन्।

त्यतिबेला मसँग दङ्ग पर्नुपर्ने कारण थियो। उनले इंगित गरेको ‘नेपाली’मा म पनि पर्थेँ।

उनी आफ्नै देश फर्किएको निकै पछिसम्म पनि सम्पर्कमा थिइन्। बिचमा हराइन्। झण्डै एक वर्षपछि वाट्सएपमा फेरि उनको मेसेज आयो।

लेखेकी थिइन् – ‘ म आफ्नो रहर पूरा गर्न निकै चिसो ठाउँमा पढाउन गएँ। त्यहाँका मानिसको मन भने निकै न्यानो रहेछ। मैले पहिले काम गरेको संस्थामा जस्तो तनाव र असहयोग भोग्नु परेन। न त थेरापी डगको नै सहारा लिनु पर्‍यो। मैले भनेको थिएँ नि असल मानिसहरूसँग समय बिताउन सहज हुन्छ।’

कति सुन्दर शैलीमा लेखेकी थिइन् उनले अनुभूति। पूरा याद छैन तर मैले दोहोर्‍याएर पढेँ। र, उसका लागि खुशी भएको बताउनु अघि ‘थेरापी डग’बारे खोजेँ।

मान्छेलाई स्नेह दिने, तनावमुक्त रहन साथ र सहयोग गर्ने कुकुर। साह्रै रोचक लाग्यो। थप खोजेँ, मान्छेलाई भावनात्मक साथ दिनका लागि अस्पताल, विद्यालयदेखि कार्यालयसम्म राखिँदो रहेछ, त्यस्ता कुकुर। सुन्दा अनि पढ्दा कति सुन्दर सुनिन्छ – एउटा मान्छेलाई भावनात्मक अनि मानसिक रुपमा कमजोर महसुस हुँदा भाषा नै नबुझ्ने अर्को प्राणीको साथ – स्पर्श गरेर, अंगालो हालेर।

डिप्रेसनदेखि अल्जाइमरजस्ता मानसिक स्वास्थ्यसँग जोडिएका समस्यासँग जुधिरहेका मानिसलाई कुकुरमात्र कहाँ हो र? मुसा, बिरालो, घोडा र चराहरूले पनि साथ दिने रहेछन्। तिनले त सक्ने रहेछन् भने कोसिस गर्ने हो भने मान्छेले नसक्दो होला त?

पोलिस साथीको त्यो सन्देशले मलाई थेरापी डग चिनायो। त्यसभन्दा बढी, सँगै काम गर्नेहरूसँग पद र तप्काभन्दा माथि उठेर साट्न सकिने खुशी, दिन सकिने साथ र गर्न सकिने सहयोगबारे बुझायो।

काम गर्ने ठाउँमा कामदारका लागि जनावरको यस्तैखाले साथ उपलब्ध गराउनु हाम्रा लागि अलि परको विषय होला। तर, मान्छे नै भएर निभाउन सकिने धर्म त छन् नि होइन? अंगालो नै मार्नु परेन। मानसिक रुपमा असहज महसुस गरिरहेको वा भावनात्मक हिसाबमा गलेको कसैको नजिकै भइदिएर, सोधेर – तिमीलाई कस्तो छ? बराबर अर्थ राख्छ, सुनिदिनुले पनि। यस्तो अवस्थामा तगारो बनाउनै पर्दैन औपचारिकता र पद प्रतिष्ठालाई।

काम गर्ने ठाउँमा मान्छेले पैसा मात्र कमाउँदैन। मान्छे अनि सम्बन्ध पनि कमाउँछ। एक अर्कासँग दिइन्छ, लिइन्छ। सामाजिक सहायताको संस्थागत माध्यम हो यो जहाँ छुट्याउनेले तह छुट्याए, माथिल्लो या तल्लो भनेर। त्यस्ता हरेक तहमा रहनेको महत्व त छ नि। कसैले कामसँगै रहर पूरा गर्लान्। कसैले सीप र क्षमता सदुपयोग गर्लान्। हामीमध्ये धेरैका लागि आम भाषामा भनिने ‘जागिर’ दानापानीसँग जोडिएको आवश्यकता पनि होला। कारण फरक होलान्। तर पनि, एकै ठाउँमा काम गर्नेहरूलाई उद्देश्यले त जोड्ला नि। जोडिएपछि उस्तै महत्व राख्छ एकअर्काको स्वस्थ उपस्थितिले। निकटता र भावनात्मक साथले सुरक्षित र ‘म एक्लो छैन’ भन्ने महसुस गराउँछ नै।

कामको तनाव अलि बढी भएका सहकर्मीलाई आफ्नो छेउमै भएको पानीको बोतल दिँदा थोरै राहत मिल्ला नि? वा कुनै हाकिमले घर निस्किन लागेको कर्मचारीलाई ‘बाटो एउटै पर्छ आज म छाडिदिउँला’ भन्दा सानै सही खुशी हुने बहाना भेटिएला। भोलि त्यही कर्मचारी समस्याहरूमा उल्झँदा हाकिमसम्मै सुनाउन जाने बाटो बनोस् न।

समस्या सधैँ कार्यालयको खाजा नमीठो हुनु वा समयमा तलब नपाउनुसँग सम्बन्धित नहोला। कहिले काहीँ गहिरो हुनसक्छ, सँगै काम गर्नेले क्षमतालाई लिएर गरेको प्रश्नले लगाउने चोट। त्यसभन्दा अलग घाउहरू विरुद्ध अप्ठ्यारो लडाई लडिरहेको हुनसक्छ, सधैँ हाँसिरहेजस्तो देखिने सहकर्मी वा कामदार।

त्यस्तो अवस्थामा कायम औपचारिकता र पदको प्रतिष्ठाले रोक्नसक्छ हामीलाई – कसैको भोगाइ नियाल्न, उनीहरूको छेउमा जान र अनुभूतिबारे प्रश्न गर्न, मान्छेलाई मान्छेसँग नजिक बनाउन। केही नम्र, उदार र निकट बनेर फरक संघर्षबारे बुझ्न, जुन संघर्षले उसलाई कार्यकक्षका सबैभन्दा ‘घुसघुसे’, ‘घमण्डी’ वा ‘कसैसँग नमिल्ने’ बनाएर अलग राखेको हुन्छ।

तर, त्यस्तो केही हुनसक्छ जसले उसको सिर्जनात्मकता, कामको गुणस्तरमा असर पारिरहेको। त्यसबारे उसैलाई केही थाहा नहुनु स्वभाविक हो। घुलमिल नहुनु, हाँसो धमिलिनु र बोली मधुर बन्दै गएको ऊ स्वयंले पत्तो नपाउन सक्छ। रीस बढेको अनि कमजोरीले गाँज्दै लैजानुको कारण ऊ आफै पनि खोज्दै हुनसक्छ।

तीन महिनाअघि नेपाली फिल्म उद्योगका फाइट निर्दशनको टोलीसँगको यात्रामा थिएँ। कुराकानीको क्रममा एक स्टन्ट म्यानले सुनाए – सुटिङको बेला कहिलेकाहीँ दुर्घटना हुन्छ। कलाकारको हातखुट्टा भाचिन्छ। जसको भाँचियो ऊ पीडामा हुन्छ। तर, प्राय निर्माता-निर्देशकले कस्तो छ अवस्था? सोध्न पनि भ्याउँदैनन्। उनीहरूलाई त सुटिङको दिन लम्बिनु र खर्च बढ्नुको मात्र चिन्ता।

पीडित ठीक भएर सेटमा फर्कला तर टिमबाट नैतिक सहयोग र भावनात्मक साथ नपाएको उसले पहिलेजस्तै मन लगाएर काम गर्ला त? शारीरिक पीडा र मानसिक तनाव बिच गुज्रिरहेको उसले भावनात्मक साथ नपाउनुको असर कस्तो होला?

सहज हुँदैन हात भाँचिएकालाई सिघ्र स्वास्थ्य लाभको कामना गरेजस्तो मन भाँचिएको देख्न र साथ दिन। तर, थकान र निराशा त ठम्याउन सकिन्छ नि, सोध्न सकिन्छ कारण।

‘ट्वाइलेटमा चिप्लिएर लडेँ अनि हात भाँचिएछ’ जस्तो सहज जवाफ नफर्काउला तर तपाईँ थोरै उदार भइदिनुले ऊ खुल्न सक्छ। र, दिनसक्छ जनाउ, जसले उसलाई दुखाइरहेको छ; निरन्तर असक्षम र असफल महसुस गराइरहेछ।

एक्लै बस्न रुचाएजस्तो देखिने सहकर्मीलाई एक्लै छाडिदिँदा भोलि उसले हामीलाई एक्लो पार्‍यो भने? त्यसपछिको रित्तोपनको खाडल पछुतोबाहेक अरु केले पुर्न सक्छ? खोइ किन हो, कोही निकै टाढा पुगेपछि मात्र जाग्ने दु:ख मनाउमा त आत्मीयता नै अनुभूत गर्दिनँ म। जस्तै कसैको तस्विरमुनि लेखिने आर.आइ.पी। कति सतही हुन्छन्, पूर्ण रुपसमेत नपाएका ती अक्षरहरू।

+++

‘कहिले एकै दिन २-३ हजार शब्द लेखिन्छ। कहिले हप्तौंसम्म एक अक्षर लेख्न सकिँदैन। लगातार काम गर्न मेसिनले त सक्दैन। तँ त मान्छे होस्। चिन्ता नगर्।’

काम लगाउनेहरूलाई काम गर्नेहरूको पसिनाको मोलमात्र थाहा हुन्छ। तर, कामदारको भोगाइ र संवेदनासँग समभाव राख्न खोज्दैनन् उनीहरू – एउटै तीतो भोगाइका कारण मैले यसरी सोच्न थालेको थिएँ। काम लगाउने ओहदाका सबैलाई एउटै घानमा हालिसकेको थिएँ। तर, जब आफूले काममा ध्यान दिन नसकेको ‘गनगन’ बोकेर सम्पादकसम्म पुगेँ। त्यहाँ पाएको जवाफले झस्कायो। धत्, कति चाँडो ‘जजमेन्टल’ भएछु म।

एउटा तीतो भोगाइका कारण मैले बिर्सनु हुन्नथ्यो आफू बिसञ्चोले छट्पटाइ रहँदा पद, मतभेद केहीको पर्वाह नगरी जो कोहीले तातोपानी ल्याएर दिने कार्यालयको त्यो वातावरण।

‘काम गर्न नसकेको भए फिल्म हेर्नु वा किताब पढ्नु। तर, अफिस चाहिँ आउनु। एक्लै बसेर हुँदैन’ भन्ने जवाफले हतोत्साही मलाई बेग्लै ऊर्जा दियो। त्यही एउटै वचनले रोकेको हो मलाई, निरन्तर मागिरहेको ‘ब्रेक’ लिन।

तत्काल म काममा ‘हन्ड्रेट पर्सेन्ट’ दिनसक्ने अवस्थामा थिइँन होला। तर, आफूले पाएको प्रोत्साहनका शब्दहरूले बुझायो – कहिले काहीँ जति सकिन्छ त्यतिमात्र गर्दा केही फरक पर्दैन। बस् त्यो वातावरण चाहिन्छ जहाँ हामीसँगै उभिनेहरूले भनुन् – तेरो मानसिक स्वास्थ्य र भावनात्मक अवस्थाको मलाई ‘हन्ड्रेड पर्सेन्ट’ मतलव छ। आखिर त्यही वातावरणले त रहेछ हामीलाई सशक्त, पूर्ण र सुरक्षित महसुस गराउने।

स्वेच्छा राउत

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page